विष्णुप्रसाद पोखरेल दमक। जो कोहि मान्छे शुरुवातमा पुग्दा अचम्म मान्छ । जहाँ चौबीसैघण्टा घर र आसपासमा मौरी घुमिरहेकाहुन्छ । घरका भित्ताहरुमामात्र नभएर गाइबस्तुको गोठ वरिपरि पनि मौरीका घार(डुँड) देख्दा नयाँ पुग्ने जो कोहि पनि अचम्मित हुन्छन् । घर छेउछाउ जान नयाँ मान्छे त निक्कै डराउछन् ।

झापा कमल गाँउपालिका वडा नं. ४ का देउकुमार गौतमको मौरी पाल्ने सोखले अहिले उक्त परिवारमा आर्थिक उपार्जनको एउटा माध्यम नै बनेको छ । ८ बर्ष स्थानीय रतुवा माइ बृक्षारोपण आयोजनामा बन पाले काम गरेर अहिले स्थानीय एक क्याम्पसमा सुरक्षा गार्डको रुपमा कार्यरत गौतमले घर र गोठ वरपर आफै डुढ बनाएर मौरी पाल्नु भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यि सबै स्थानीय जातका मौरी भएको र आफुले जंगलवाट ल्याएर यहाँ राखेको उहाँले जनाउनु भयो । अहिले उहाँको घर वरिपरि र गोठमा गरेर ३२ भन्दा बढि मौरीका घारहरु रहेकाछन् । यि सबै मैले जंगलबाट खोजेर ल्याएर राखेको हुँ, गौतमले भन्नुभयो । असार र साउन महिनामा मौरी रुखको टुप्पोमा भेटिने गरेको जनाउदै होशियारी पुर्वक ल्याएर राख्ने गरिएको उहाँको भनाइ छ ।

शुरुवातमा त एकदूइ घार औषधिको रुपमा प्रयोग गर्न आफ्ना लागि ल्याएको थिए, पछि ब्यवसायिक रुपमा नै धेरै गर्न मन लाग्यो, गौतमले भन्नुभयो । ६ बर्षअघि देखि घर र गाठलाइ प्रयोग गरेर ब्यवसायीक मौरी पाल्न शुरु गर्नु भएका उहाँले अहिलेसम्म यस सम्बन्धि कुनै तालिम भने लिनु भएको छैन । मैले कुनै तालिम लिएको छैन तर मौरीले मलाइ माया गर्छ र म पनि गरेर यो अवस्थामा आएको हुँ, गौतमले भन्नुभयो ।

एउटा घारबाट ३ देखि ४ केजी मह उत्पादन हुने गरेको उहाँले जनाउनु भयो । कुनै मिसावट हुदैन, सिधै घारबाट काड्दाकाड्दै उपभोक्ताले लैजाने गर्नु भएको छ, गौतमले भन्नुभयो । शुद्ध मह औषधिको रुपमा प्रयोग हुने भएकाले जान्ने र बुझ्ने आएर जति पनि मुल्य दिने भन्दै लाने गरेको पनि उहाँले बताउनु भयो । प्रतिकेजी १२ सयदेखि १४ सय रुपिया लिएर बेचेको छु, उहाँले भन्नुभयो ।

घरखर्च चलाउन यसले सहयोग एवं भरथेक पुगेको उहाँको भनाइ छ । ब्यवसायीक रुपमा अझ धेरै राख्नका लागि गाँउपालिकामा घार माग्न जादा चासो नदिएकोमा उहाँले गुनासो पनि गर्नु भयो । निवेदन लिएर गएको थिए, तर खोइ यता र उता भनेपछि मलाइ मन नपरेर त्यसै फर्किए, उहाँले भन्नुभयो । आवश्यक घार एवं डुँड नरिवलको मुढाबाट आफै बनाउने गरेको पनि उहाँले जनाउनु भयो ।

मौरीलाइ अप्ठेरो नपरेसम्म नटोक्न जनाउदै घरमा अहिलेसम्म केहि समस्या नभएको पनि गौतमको भनाइ रहेको छ । कहिलेकाहि आफु र घरपरिवारका सदस्यहरुलाइ टोकेको जनाउदै धेरै समस्या नभएको गौतमले बताउनु भयो । मौरीले आफ्नो काम गर्छ, हामीले आफ्नो काम गरिरहेका हुन्छौ, उहाँले भन्नुभयो ।