झापा । सेवाग्राहीसँग घुस लिएको भन्दै मेचीनगर नगरपालिका वडा नम्बर २ का वडा सचिव सुरेश घिमिरेविरुद्ध स्थानीयले आइतबार विरोध प्रर्दशन गर्दै कार्यालय घेराउ गरेका छन् ।
वडा सचिव घिमिरेलाई कडा कारवाहीको माग राख्दै स्थानीय आन्दोलित बनेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर सुरक्षा प्रदान गरेका थिए ।
घटना विवरण अनुसार वडा सचिव घिमिरेले सोही वडाबासी पूर्णवहादुर तामाङकी श्रीमती सञ्जली तामाङको नागरिताको सिफारिसका लागि कागजी प्रक्रिया मिलाउने वहानामा वडा कार्यालयमा बोलाएर पिडितबाट ९ हजार घुस लिएको उनीमाथि आरोप लगाइएको छ ।
पिडित तामाङ्गका अनुसार नागरिकता बनाउन श्रीमती वडा कार्यालय पुगेकी थिइन् । वडा अध्यक्षको आदेश लागि सकेपछि वडा सचिवमा निवेदन पुग्यो । त्यसपछि वडा सचिवले गाँउ र प्रहरीमा सर्जमिन गर्नुपर्ने र आमाको अभिलेखक लिनका लागि पूर्व बासस्थान रामेछाप पुग्नु पर्ने हुँदा त्यसको काजगी प्रक्रिया मिलाइदिने भनि सचिव घिमिरे १० हजार उनीसंग मागेको बताए ।
सोही अनुरुप शुक्रवार बिहान ८ बजे वडा कार्यालय खुल्न अघिनै पैसा लिएर सचिव घिमिरेलाई भेटन गएको र म सँग नौ हजार मात्र भएकोले त्यती पैसा दिएर फर्किएको पिडितका श्रीमान् तामाङ्गको आरोप छ ।
तामाङले वडा सचिबलाई पैसा दिएको कुरा उनका छिमेकीले थाहा शनिवार पाए पछि मात्र घट्ना सार्वजनिक भएको हो । वडा सचिव घिमिरेले पैसा लिएको घटना बाहिर आएपछि स्थानीय वडाबासीले आईतबार बिहान देखिनै वडा कार्यालय घेराउ गर्दै नाराबासीमा उत्रिए । घुस खाने भ्रष्ट कर्मचारीलाई कारवाहीको माग गर्दै आन्दोलित भए ।
यता प्रहरीले नियन्त्रणमा लिनु अघि वडा सचिव घिमिरेले आफुमाथि झुटो आरोप लगाएको बताए । सचिवको कारवाहीको माग राख्दै स्थानीयले इलाका प्रहरी कार्यालय काँकडभिट्टा र मेचीनगर नगरपालिका कार्यालय समेत लिखित निवेदन दिइसकेको जनाइएको छ । प्रहरीले नियन्त्रणमा लिएर उनलाई मेचीनगर नगरपालिका ल्याएका थिए ।
यस विषयमा मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यले पिडित सेवाग्राही र स्थानीयको कुरा सुन्दा धेरै कुरा प्रमाणित भईसकेको हुँदा नगरपालिकाले थप अनुसन्धान गर्ने बताए । सचिवले घुस लिएको सबै कुरा प्रमाणित भए उनलाई निलम्वन समेत गरिने उनको भनाई छ ।










