काठमाण्डौ – किसानले दूधको भाउ समायोजन गरिनुपर्ने तथा प्रतिलिटर ८० रुपैयाँ कायम हुनुपर्ने माग गर्दै आएका छन् ।

दूध उत्पादनमा प्रयोग हुने दाना, चोकर, घाँस, औषधोपचार, श्रम र ढुवानी खर्च निरन्तर बढिरहेको तर त्यसअनुसार दूधको मूल्य समायोजन नहुँदा आम्दानी खुम्चिँदै गएको किसानको गुनासो छ ।

कास्कीको सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाले पोखरामा पत्रकार सम्मेलन गरी अहिले दूधको गुणस्तरका आधारमा किसानले प्रतिलिटर ६८ देखि ७१ रुपैयाँसम्म मात्र पाउँदै आएको र यो भाउले उत्पादन लागत र श्रमको उचित प्रतिफल दिन नसकेको जनाएको छ ।

सहकारी संस्थाका अध्यक्ष नवराज बरालका अनुसार कास्कीमा सहकारीमार्फत दैनिक २८ हजार लिटर र निजी फार्म तथा डेरीबाट झण्डै ७० हजार लिटर दूध उत्पादन तथा बिक्रीवितरण हुँदै आएको छ । दूध उत्पादन किसानको जीविकोपार्जनसँग मात्रै नभई ग्रामीण अर्थतन्त्र र समग्र राष्ट्रिय अर्थतन्त्रसँग पनि जोडिएको विषय भएकाले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने अध्यक्ष बरालले बताउनुभयो ।

उत्पादन लागत बढ्दै जाने तर दूधको उचित भाउ नपाउने अवस्था रहिरहे किसान यो पेसाबाट विस्थापित हुन सक्ने जोखिम रहेको किसान प्रतिनिधि बताउँछन् । माछापुच्छ्रे गाउँपालिका–४ का कृष्णप्रसाद अधिकारीले बजारमा हरेक वस्तुको भाउ बढिरहेको तर तीन वर्षदेखि दूधको भाउ यथावत् रहेको बताउनुभयो ।

दूधको भाउ बढाउन मागसहित केन्द्रीय दुग्ध उत्पादक सहकारी संस्थाले सरकारसँग लामो समयदेखि माग गर्दै आएको छ । उपभोक्ताले महँगोमा दूध किन्नुपर्ने तर किसानको उत्पादन लागतसमेत नउठ्ने अवस्था छ ।