काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कर्णालीबाट पार्टीका उम्मेदवार निर्वाचित नभए पनि प्रदेशको विकास सरकारको प्राथमिकतामा रहने बताएका छन्। सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले चुनावी परिणामका आधारमा विकासमा विभेद नगर्ने बताएका हुन्।
‘हाम्रा उम्मेदवारलाई विजय गराउनु र नगराउनुको कर्णालीको विकाससँग साइनो छैन। कर्णालीले विकास मागेको छ, खोजेको छ,’ लामिछानेले भने, ‘चाहे जीवनभर हारौँ, रास्वपा सरकारमा रहुञ्जेल कर्णालीले एकजनामात्र पनि नपठाओस्, एक भोट पनि नदिओस्, कर्णाली रास्वपाको प्राथमिकता रहनेछ।’
उनले कर्णालीसँग विकासका नाममा राजनीतिक सौदाबाजी नगर्ने स्पष्ट पारे। उम्मेदवार जिताए मात्रै पुल, सडक बनाउने आश्वासन दिएर मत माग्ने राजनीति रास्वपाले नगर्ने उनको भनाइ थियो।
‘हामी कर्णालीसँग सौदा गर्न आएका होइनौं। हाम्रा मान्छे जिताइदेऊ अनि मात्र विकास दिन्छौं, जितायौ भने पुल बन्छ, बाटो बन्छ भनेर कुनै सौदाबाजी गर्न आएका होइनौं,’ उनले भने।
लामिछानेले राजनीति चुनावमा मात्रै सीमित नहुने भन्दै कर्णालीका मुद्दालाई निरन्तर प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए।
कर्णालीमा पार्टीको उपस्थिति र संसदीय प्रतिनिधित्व कमजोर रहेको स्वीकार गर्दै उनले पार्टीको आवाज दूरदराजसम्म पुर्याउन नसकेको बताए।
‘कर्णालीमा हाम्रो उपस्थिति अन्य ठाउँहरूको जस्तो हुन सकेन। उम्मेदवारलाई जिताएर संसद् लैजाने हकमा हामी कर्णालीमा पछाडि पर्यौं। हाम्रो आवाज कर्णालीको दूरदराजमा पुग्न सकेन,’ उनले भने।









